पुरुषाेतम यादव ,

जनकपुरधाम, २ बैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जुडसितल सिरुवा पर्वको अवसरमा सम्पूर्ण प्रदेशवासीलाई सुख, समृद्धि, आरोग्य, शीतलता र दीर्घजीवनको शुभकामना व्यक्त गर्दै धार्मिक र सांस्कृतिक पर्वहरूबाट वातावरण संरक्षणको सन्देश लिने आवश्यकता औँल्याएका छन्।
मुख्यमन्त्री सिंहले दिएको शुभकामना सन्देशमा भनिएको छ, “हाम्रो धार्मिक तथा सांस्कृतिक पर्वहरू प्रकृतिप्रति कृतज्ञता प्रकट गर्ने तथा प्राकृतिक स्रोतको संरक्षण गर्ने प्रेरणाश्रोत हुन्।” उहाँले जुंठेस्थान पर्वले पनि वातावरणीय संरक्षण र प्राकृतिक श्रोतको दिगो उपयोगका सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
सन्देशमा जलवायु परिवर्तन, जैविक विविधताको सङ्कट र प्रदूषण नियन्त्रणजस्ता समसामयिक वातावरणीय चुनौतीहरूलाई सम्बोधन गर्न समुदाय स्तरमै सचेतना आवश्यक भएको उल्लेख छ। साथै, उहाँले कृषि, घरायसी र व्यापारिक व्यवहारमा वातावरणमैत्री अभ्यास अपनाउन आग्रह गर्नुभएको छ।
मुख्यमन्त्री सिंहले जल, जमिन र वनस्पतिको संरक्षणमा स्थानीय समुदायको सक्रियता जरुरी भएको बताउँदै वैज्ञानिक आधारमा विवेकशील निर्णय गर्न आह्वान समेत गर्नुभएको छ।
सन्देशको अन्त्यमा उहाँले जुंठेस्थान पर्वले सबैमा विवेक, शान्ति र सहअस्तित्वको भावना ल्याओस् भन्ने कामना व्यक्त गर्नुभएको छ।
प्रकाशित मिति: २०२५-०४-१५ , समय : १३:२२:५४ , १७ घन्टा अगाडि