नयाँ आशा ,
कुमार पंकज
सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका-२ संग्रामपुर बजार स्थित माँ दुर्गा मन्दिरमा कलस्थापनाका लागि भब्य कलश यात्रा निकालिएको छ । दशैंको पहिलो घटस्थापनाका दिन तराई–मधेशका घरधरमा कलश स्थापना गरि विधिवत रुपमा पुजा गर्ने गरिन्छ । नेपालीहरुको महान् पर्व वडादशैँ आजदेखि सुरु भएको छ ।
प्रत्येक वर्ष जस्तै पर्सा गाउँपालीका २ संग्रामपुर स्थित श्री दुर्गा मन्दिरको प्राङ्गणबाट बाँजागाँजासहित निकालिएको कलश यात्राले वडाका बिभिन्न भागको परिक्रमा गर्दै सितलपुर स्थित हर्दी खोला (नदि) को उतरहिनीमा कलशमा जल भरेर पुन: दुर्गा मन्दिरमा स्थापित गरिएको छ । करिब १५०० कुमारी कन्याले कलशमा जल भरेर दुर्गा मन्दिरमा कलश स्थापना गरेकी छिन ।
संग्रामपुरको श्री दुर्गा मन्दिरलाई यतिबेला रङ्गरोगन र टेण्ट(पण्डाल) ले दुल्ही झै सजाइएको छ । घटस्थापना देखिनै मेला सुरु हुने भएपनि सप्तमी देखि एकादशी सम्म एकदमै भिडभाड सहित मेला लाग्ने भएको स्थानीयहरुले बताए ।
आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ । यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौ वटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।
प्रकाशित मिति: २०२३-१०-१५ , समय : १५:०५:३८ , १ वर्ष अगाडि