सेयर बजारमा सर्वसाधारणको आकर्षण बढ्दै 

नयाँ आशा ,

काठमाडौं । सेयर बजारमा सर्वसाधारणको आकर्षण बढ्न थालेपछि नेपालमा डिम्याट खाताको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

विभिन्न कम्पनीले निष्कासन गर्ने आईपीओमा आवेदन दिन र सेयर कारोबार गर्नका लागि डिम्याट खाता र मेरो सेयर आवश्यक पर्छ। सोही कारण पनि पछिल्लो समय डिम्याट खाता र मेरो सेयरको संख्या बढेको हो।

पछिल्लो समय आईपीओ भर्ने लगानीकर्ताको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार बिहीबारसम्ममा डिम्याट खाताको संख्या ५९ लाख ४७ हजार ७७९ पुगेको  भने मेरो सेयरका प्रयोगकर्ताको संख्या ५० लाख ७ हजार ७०७ पुगेको छ । आईपीओमा आवेदन दिन, हकप्रद सेयर भर्न र ईडीआईएस गर्न मेरो सेयरबाट सजिलो हुने भएकाले डिम्याट र मेरो सेयर खाता खोल्नेको संख्या पनि बढेको हो । डिम्याट खाता नभएका व्यक्तिले प्राथमिक सेयर भर्न पनि पाउँदैनन्। अनलाइनबाट सबै कारोबार गर्न मिल्ने सहज प्रविधि बनेपछि प्राथमिक वा दोस्रो बजारका लगानीकर्तालाई मेरो सेयर अकाउन्ट अनिवार्य छ ।

हाल एक जनाले २ ओटासम्म डिम्याट खाता खोल्न गर्न पाउने व्यवस्था छ । सिडिएससीका अनुसार हाल १०१ संस्थाहरूले डिपी सेवा प्रदान गर्दै आइरहेका छन । हालसम्ममा ११ अर्ब ३५ करोड १७ लाख ४८ हजारभन्दा बढी कित्ता सेयर डिम्याट भइसकेको छ ।

७६ वटा कम्पनी क्लियरिङ सदस्य रहेका छन् । लगानीकर्ताले हाल ४३ वटा बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बाका माध्यमबाट साधारण सेयरमा आवेदन दिन सक्नेछन् ।

सिडिएससीका अनुसार बजार बढेपछि नयाँ लगानीकर्ता पनि थपिन्छन्।पछिल्लो समय निरन्तर सार्वजनिक शेयर निष्कासनमा आइरहेका विभिन्न कम्पनीको आईपीओमा सर्वसाधारणको आकर्षण रहेको छ ।

प्रकाशित मिति: २०२३-१०-०६ , समय : २०:४२:५७ , १ वर्ष अगाडि