Naya Aasha ,
काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका कर्मचारीलाई तुरुन्त रमाना दिन निर्देशन दिएको छ ।
रमाना भएर जानुपर्ने धेरै कर्मचारीले हालसम्म पनि रमाना नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको भन्दै मन्त्रालयले मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश र स्थानीय तहलाई रामाना दिन निर्देशन दिएको हो ।
मन्त्रालयले नियम बमोजिम सरुवा, पदस्थापन, कामकाज, काज र काज फिर्ताका निर्णय बमोजिम नै रमाना दिन भनेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन बमोजिम स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतसहित संघीय निजामती कर्मचारीलाई प्रचलित कानून बमोजिम रमाना लिन निर्देशन दिएको छ ।
मन्त्रालयले निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना दिई ७ दिनभित्र यस मन्त्रालयमा जानकारी गराउनु पर्ने गरी संघीय मामिलामन्त्री अनिता देवीले मन्त्रीस्तरीय निर्णय गरेकी छिन् ।
अहिले सरुवा भएका कर्मचारीहरु रमाना नलिई साविककै कार्यालयमा बसिरहने विकृति मौलाएको छ । सम्बन्धित कार्यालयले पनि विभिन्न बहानामा रमाना नदिने समस्या समेत छ ।
सरकारले सरुवा गर्दा तोकिएका कार्यालयमा समयमै नजाने प्रवृत्ति मौलाएपछि ७ दिनको समय दिएर परिपत्र गरेको हो ।
प्रकाशित मिति: २०२३-०९-३० , समय : १६:२५:१७ , १ वर्ष अगाडि