Naya Aasha ,
सडक व्यापारलाई व्यवस्थित बनाउने सुझाव दिन ८ सदस्यीय समिति गठन गर्नेलगायत ४ बुँदे सहमति
काठमाडौँ : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहलाई चुनावी वाचा स्मरण गराउँदै ९ दिनदेखि उभिएर शान्तिपूर्ण धर्ना दिँदै आएका अभियन्ता ईः र महानगरबीच बुधबार साँझ ४ बुँदे सहमति भएको छ । सहमतिलगत्तै अभियन्ता ईः लगायतले प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको मूलद्वारमा गर्दै आएको धर्ना स्थगित गरेका छन् । सहमतिमा महानगरका तर्फबाट चिनीकाजी श्रेष्ठ र धीरज जोशी तथा ईः ले हस्ताक्षर गरेका छन् ।
बालेनले सुने ईः को आवाज
सहमतिपत्रमा हस्ताक्षरपछि सहयोगीसहित ईः र काठमाडौं महानगरपालिकाका प्रतिनिधि ।
सहमतिअनुसार सडक व्यापारलाई व्यवस्थित गर्ने सुझाव प्रस्तुत गर्न ८ सदस्यीय समिति गठन गर्ने भनिएको छ । जसमा महानगरपालिकाका ३, ईः का तर्फबाट २, भौतिक तथा योजना मन्त्रालय, सहरी विकास मन्त्रालय र ट्राफिक प्रहरीका एक–एक जना प्रतिनिधि रहनेछन् । समितिले दुई महिनाभित्र स्थान, समय र व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया र कानुनी व्यवस्थासमेतको प्रबन्ध गर्नुपर्ने सुझाव दिने उल्लेख छ । सम्झौतापछि अभियन्ता ईः ले विगतका फुटपाथमा व्यापार गर्दै आएको विषयमा लिँदै आएको नीति छाडेर उनीहरूको अस्तित्व स्वीकार गरेको बताएका छन् । ‘यो पर्याप्त परिणाम होइन तर काठमाडौं महानगरपालिकाले हिजोको नीतिलाई निरन्तरता नदिई सडक व्यापारीको अस्तित्व स्वीकार गरेको छ । त्यो ठूलो कुरा हो,’ उनले भने, ‘अस्तित्व स्वीकार्य गरेपछि हक अधिकारको विषय पनि आउँछ । काठमाडौंमा हुँदा खाने वर्गका लागि बाटो खोल्नेछ ।’
महानगरपालिकाले फुटपाथलाई व्यवस्थित बनाउन र सौन्दर्यका लागि भन्दै सडक व्यापारीमाथि कारबाही गर्दै आएको थियो । त्यसक्रममा नगर प्रहरीले गर्दै आएको बल प्रयोगको समेत आलोचना हुँदै आएको थियो । सम्झौतामा पैदलयात्री र सवारीसाधन अवरोध नहुने स्थानको पहिचान गर्न साविकमा फुटपाथ/सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीका लागि उपयुक्त स्थल पहिचान गर्न महानगरले आगामी मंगलबारसम्म पहल गर्नेसमेत सहमति भएको छ । महानगरभित्र कानुनले निषेध गरेका स्थानबाहेकका स्थान खोजिनेछ । फुटपाथ तथा साइकलमा व्यापार गर्दै आएकाहरूको जफत गरिएका सामानहरू पनि फिर्ता गर्ने सहमति भएको छ । ‘फुटपाथ/सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामानहरू महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित सामानका धनीलाई महानगरले फिर्ता गर्ने,’ सहमतिमा उल्लेख छ । विभिन्न व्यक्तिहरूले नगर प्रहरीले कानुनबाहिर गएर बल प्रयोग गर्दै आएको भन्दै आलोचना हुने गरेको थियो ।
‘जुन सामान नगर प्रहरीले जफत गरेको छ, कानुनसम्मत थिएन । जीविकोपार्जन गर्नका लागि साइकल, गाडा, परम्परागत व्यापारीहरूको खर्पन, डोको, नाम्लोबाट जुन सामान जफत गरिएको छ, त्यो फिर्ता गरिनुपर्छ,’ ईः ले भने । उनले आन्दोलन मात्रै नभएर सहमति भएको विषयलाई पूरा गर्ने विषयमा समन्वय गरेर अघि बढ्ने बताए ।
१ सय ९९ घण्टा निरन्तर रूपमा उभिएका ईः ले सहमति भएको विषय जानकारी गराउनेबित्तिकै राष्ट्रिय सभागृहअघि भुइँमा बसेर आफ्नो आन्दोलन स्थगित गरेको घोषणा गरे । ‘१ सय ९९ घण्टापछि थचक्क भुइँमा बस्दा राहत महसुस भएको छ,’ उनले भने । फुटपाथ तथा ठेला व्यापारीहरूको समस्याका लागि निरन्तर उभिएर आन्दोलन गर्दै आएका अभियन्ता ईः ले अभियान सुरु गरेपछि उनले उठाउँदै आएका माग पूरा गर्नका लागि महानगरपालिकालाई विभिन्न पक्षले दबाब दिँदै आएका थिए । विभिन्न दलका नेता, नागरिक समाजका अगुवाहरूले राष्ट्रिय सभागृह पुगेर ईः को आन्दोलनप्रति ऐक्यबद्धता जनाएका थिए ।
उनको माग सम्बोधन गरेर आन्दोलन टुंग्याउन विभिन्न पक्षले मेयर शाहलाई आग्रह गरेका थिए । राष्ट्रिय मानवअधिकार आयोगले ईः को स्वास्थ्यका विषयमा चासो व्यक्त गर्दै वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेको थियो । मंगलबार वार्ताको प्रयास भए पनि अन्तिम समयमा सहमति जुट्न सकेको थिएन । बुधबार दिउँसो मेयर शाहले सामाजिक सञ्जालमा लेख्दै ईः को माग पूरा गर्ने अधिकार आफूसँग नभएको बताएका थिए । फुटपाथमा व्यापार गर्न नमिल्ने अडान उनले दोहोर्याएका थिए । ‘बिहान दुई घण्टा र बेलुका दुई घण्टा पनि बालबालिका हिँड्छन्, दृष्टिविहीन हिँड्छन्, गर्भवतीहरू हिँड्छन्, बिरामीहरू हिँड्छन् । सोही समयमा आगलागीको घटना हुँदै नहुने होइन । मानिसहरू बिरामी नपर्ने होइनन् । त्यस्तो आपत्कालीन अवस्थामा फुटपाथका पसल र ठेलाहरूले अवरोध गर्छन् । यही कारणले सडक वा पेटीमा राखिने निर्माणका सामग्रीहरू पनि हटाइन्छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
प्रकाशित मिति: २०२३-०९-२८ , समय : १२:४२:२९ , १ वर्ष अगाडि