Naya Aasha ,
काठमाडौँ:कांग्रेस महामन्त्री गगन थापाले शिक्षा विधेयक संसद्बाट सच्याउने प्रतिबद्धता व्यक्त गर्दै आन्दोलन फिर्ता लिन आन्दोलनरत शिक्षकहरूसँग आग्रह गरेका छन् । उनले बिहीबार नोट जारी गर्दै विधेयक सुधार्ने प्रतिबद्धता जनाएका हुन् ।
‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसद्मा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौँ‚’ प्रतिनिधिसभाका सांसद समेत रहेका थापाले भनेका छन्,’ विद्यालय शिक्षासम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू छन्, ती सुधार गर्नैपर्नेछ । संसद्मा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो । हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौँ । आन्दोलनरत शिक्षक, स्थानीय सरकारलगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सबैका जायज माग र चिन्ताको संवोधन गर्ने कुरामा प्रतिबद्ध छौं ।’
उनले सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढंगले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघलगायत सबै पक्षमा आग्रह गरेका छन् ।
‘प्रस्तावित विधेयकले सरकारको मनसायको प्रस्ताव मात्र हो । विधेयक अब संसद्मा आएको छ । अब हामी विधायकहरूले यसमा काम गर्ने हो र सबैको मनसायको कानुन बनाउने हो । हामी सबै सरोकारवालाको कुरा सुन्छौं । यो विधेयक ऐन बन्दा यसमा धेरै परिमार्जन संशोधन हुने नै छन्, संशोधन गर्नै पर्ने विषय छन्‚’ उनले भनेका छन् ।
पाँच दशकपछि बन्दै गरेको शिक्षा ऐन, संघीय संविधान बनेपछि त्यसअनुरूप बनाइने शिक्षा ऐनले विद्यालय शिक्षाको सन्दर्भमा अहिले भोगेका समस्या र चुनौतीको सम्बोधन गर्ने मात्रै होइन, यो पाँच दशकको अनुभवबाट सिकेर कम्तीमा अबको दुई दशकको समयलाई दिशा निर्देश गर्न सक्ने गरी परिकल्पना गरेर बनाउनु पर्ने बताएका छन् ।
‘शिक्षकको पेसालाई सम्मानित र मर्यादित बनाउनुपर्नेछ । आज शिक्षा दिइरहेका शिक्षकहरूको न्याय, उत्प्रेरणा र आत्मसम्मानसँगै अब बन्ने शिक्षकका लागि आकर्षण, क्षमता र गुणस्तरको बाटो पनि मजबुत बनाउनुपर्नेछ‚’ थापाले भनेका छन्,’ शिक्षक देख्दा विद्यार्थी र समाजले गौरव गर्ने बनाउनुपर्छ भन्नेमा हामी प्रस्ट छौं । यो विधेयकले निजी विद्यालयको नियमन अनि सामुदायिक विद्यालयको समुचित व्यवस्थापन र गुणस्तर अभिवृद्धिका लागि पनि स्पष्ट दिशानिर्देश गर्नुपर्नेछ ।’ उनले यो आवेगभन्दा पनि संवाद गर्ने समय हो भएकाले विद्यालय बन्दजस्ता अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप बदल्न शिक्षक अनुरोध गरेका छन् ।
प्रकाशित मिति: २०२३-०९-२१ , समय : १२:१३:३२ , १ वर्ष अगाडि